प्रहरीलाई थप अधिकार, सैनिक अपराधमा छानबिन खुला

काठमाडौं/ अब ब्यारेक बाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन ।अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउने छ । मुद्दाको अभियोजन पनि अन्य नागरिक सरह सामान्य अदालतमा सरकारी वकिलले गर्नेछन् ।

सर्वोच्च अदालतको पूर्ण इजलासले स्पष्ट नजिर कायम गर्ने गरी बिहीबार यस्तो फैसला गरेको छ । फैसलापछि नागरिक प्रकृतिका सैन्य कसुर सैनिक अदालतको क्षेत्राधिकार बाहिर हुनेछन् ।

फैसलासँगै सैनिक ऐनले स्पष्ट किटानी गरेबाहेकका सबैखाले अपराधजन्य कार्यमा अब आयन्दा सामान्य अदालतमा सुनुवाई र फैसला हुने मार्गप्रशस्त भएको छ । फैसलासँगै सैनिक अदालत र अन्य सामान्य अदालतको क्षेत्राधिकार विवादको टुंगो समेत लागेको छ ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको पूर्ण इजलासले ब्यारेकबाहिरका सबै फौजदारी कसुर अनुसन्धानमा प्रहरीको अधिकार बलियो पार्ने गरी बिहीबार यस्तो फैसला सुनाएको हो ।

सिद्धान्ततः तीन जना न्यायाधीश संलग्न पूर्ण इजलासको फैसलालाई उस्तै प्रकृतिको अर्को विवादमा पाँच वा पाँच भन्दा न्यायाधीशले फरक नजिर स्थापित नगरेसम्म अन्तिम हुन्छ । यो फैसलाले सैनिक क्षेत्राधिकारको भार समेत घटाउने अनुमान गरिएको छ ।

‘सर्वोच्चको पूर्ण इजलासबाट बिहीबार भएको यो फैसलाले सेनाले ब्यारेक बाहिर आएर गरेका गैरसैनिक अपराधमा पक्राउ र छानबिनको दुविधा अब समाप्त भएको छ’, सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले भने, ‘तर व्यारेकभित्रकै कसुरमा भने सैनिक ऐन बमोजिम कारबाही हुन्छ । सेनाको काम कारवाहीमा क्षेत्राधिकारको दुविधा हट्यो ।’

सामान्य अदालतबाटै सैनिक कसुरमा मुद्दा हेरेको दाबीसहित वन्दीप्रत्यक्षीकरणसम्बन्धी एक विवादमा उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, सेनाको जङ्गी अड्डा र केन्द्रीय कारागारविरुद्ध सर्वोच्चमा दायर रिट खारेज गर्दै प्रहरी, सरकारी वकिल र सामान्य अदालतको अधिकार स्थापित गरिदिएको हो ।

गैरकानुनी रूपमा आखेटेपहार (गैंडाको खाग) ओसारपसारमा संलग्नको अभियोगमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएका हरिबहादुर ढकालको वन्दीप्रत्यक्षीकरण विवादमा फैसला भएको हो । ढकाल तत्कालीन नारायणहिटी राजदरबारमा कार्यरत सैनिक थिए ।

सहन्यायाधिवक्ता रेग्मीले सर्वोच्चबाट सैनिक अदालत, सामान्य अदालत, प्रहरी र महान्यायाधिवक्ताको क्षेत्राधिकार प्रस्ट गरिदिएको बताए। पूर्ण फैसला लेख्न बाँकी रहे पनि रिट खारेज भएसँगै क्षेत्राधिकार विवाद पनि सकिएको पनि उनले बताए ।

ढकाल जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको ‘थुनछेक आदेश’ पछि जेलमा छन्। सैनिक ऐन, २०६३ अनुरूप सैनिक अदालतले कारबाही गर्नुपर्नेमा क्षेत्राधिकारविपरीत जिल्ला र उच्चले थुनामा पठाएको दाबी ढकालको छ । सेनाका ‘हत्या र बलात्कार’ सम्बन्धी मुद्दा मात्र जिल्ला अदालतले हेर्न सक्ने दाबी उनको थियो ।

तर सैनिक कानुन अनुसारका शत्रुसम्बन्धी कसुर, सैनिक विद्रोह, जंगी कारबाहीविरुद्धको कसुर, भगौडासम्बन्धी कसुर, कमान्ड वा जिम्मा लिएका व्यक्तिलाई भगाएको कसुर, आफूभन्दा माथिको अधिकृतले दिएको आज्ञा वा आदेशको अवज्ञासम्बन्धी वा सेनाको सम्पत्ति हानीनोक्सानी, संस्थासँग सम्बन्धित कागजात कीर्ते वा झुटा बनाउने, आफूलाई पक्राउ वा नियन्त्रण गर्ने आदेशको अवज्ञा गर्ने, सैनिक ऐनको क्षेत्राधिकार भित्रको सम्पत्ति निजी काममा उपयोग गर्ने चोर्ने, हिनामिना गर्ने वा कब्जामा लिने र ठगी वा करकाप गर्ने जस्ता कसुरमा भने सैनिक अदालतले नै सुनुवाइ गर्न पाउँछ ।

यस्तै हतियार, गोलीगठ्ठा, इक्विपमेन्टसमेत लिइ भाग्ने, अनुशासन वा आचरणसम्बन्धी व्यवस्थाको उल्लंघन गर्ने, अपुरो कागजात प्रमाणित गर्ने, झुटा बयान वा विवरण भर्ने, विवरण ढाँटी झुटा नियुक्ति लिने, हिरासतबाट भाग्ने, झुटा आरोप लगाउने, गयल पर्ने, गैरकानुनी तलब रोक्का गर्ने, सैनिक अदालतमा उपस्थित हुन बयान बकपत्र दिन इन्कार गर्ने, भ्रष्टाचार, चोरी, यातना र बेपत्ता जस्ता कसुर वा तिनको उद्योग जस्ता कसुर सैनिक अदालतले हेर्नसक्ने छ ।

यी कसुर सेना, सैनिक संस्था, त्यसको कमान्ड, सैनिक सम्पत्ति गोलीगठ्ठा सामग्रीको सुरक्षा, सेनाको अनुशासन, नियन्त्रण, सञ्चालन र सैनिक ड्युटीसँग सम्बन्धित हुन् । तर सेनाको कार्यक्षेत्रसँग असम्बन्धित ब्यारेकबाहिर गरेका अपराधजन्य कार्यमा प्रहरीले पक्राउ गर्न पाउने छ । यस्ता मुद्दामा अदालतबाट थुनामा राख्न वा सजाय तोक्न सक्न पाउने छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार