पाँचथरमा उप–निर्वाचन दुई दर्जन उम्मेद्वार, १ को घोषणा १९ को चर्चा

पाँचथर, १७ भदौ आगामी मंसिर १४ मा हुने उप–निर्वाचनका लागि पाँचथरका तीन क्षेत्र अहिले चर्चामा छन । फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।’

तीन स्थानमा हुने तीन जनाको निर्वाचनका लागि १९ जनाको चर्चा छ । यो प्रारम्भिक चरणको चर्चा हो । मुख्य गरेर नेपाल कम्युनिष्ट पार्टी र नेपाली काग्रेस बिचमा प्रतिश्पर्धा देखिएको छ । दुई पार्टीका मात्रै १९ जना उम्मेद्वार अहिले चर्चामा छन ।
फिदिम नजिक रहेको हिलिहाङ वडा नम्बर ७ मा नेकपाका १२ भन्दा बढीको चर्चा छ । त्यस मध्ये मुख्य ५ जना मध्ये रहेको नेकपा स्रोतले बतायो । मुख्य गरेर तुलसी थापा, राजेन्द्र काफले, टेकबहादुर सुहाङ, गेहनाथ रिजाल र इन्द्र रिजालको चर्चा छ । त्यस्तै फिदिम नगरपालिका १ मा नेकपाका तर्फबाट गजाधर भट्राई र दिपेन्द्र थापामगरको चर्चा छ । फिदिम १ मा चर्चा गरिएका दुई मध्येका एक भट्राई अघिल्लो पटकको निर्वाचनमा पनि उम्मेद्वार थिए ।

उता फाल्गुनन्द गाउँपालिकामा नेकपाका तर्फबाट ठाकुरसिं नेम्बाङ र बिरबहादुर कुरुङवाङको चर्चा छ । अघिल्लो निर्वाचनमा उनीहरु मध्ये नेम्बाङ तात्कालिन माओवादी र कुरुङवाङ तात्कालिन एमालेबाट उम्मेद्वार बनेका थिए ।
यता नेपाली काग्रेसका तर्फबाट हिलिहाङ ७ मा ४ जनाको चर्चा छ । तिलबिक्रम इदिङगो, गणेश पोखरेल, इन्द्र सुबेदी र नरेन्द्र पन्धाकको चर्चा रहेको काग्रेस स्रोतले बतायो । यता फिदिम १ मा नेपाली काग्रेसका तीन जनाको चर्चा छ । फिदिममा सुबराज थापा, कमल बाँस्कोटा र सन्तोष श्रेष्ठको चर्चा रहेको छ । उनीहरु मध्येकै कोही उम्मेद्वार बन्ने वा अरु कोही आउने भन्नेबारे नेपाली काग्रेसले निर्णय गरिसकेको भने छैन ।

उता फाल्गुनन्द गाउँपालिकामा पनि नेपाली काग्रेसका तीन जनाको चर्चा छ । बृजहाङ आङदेम्वे, रामराज आङदेम्बे र नन्द नेम्बाङको चर्चा सुनिएको छ ।

देशभर रिक्त रहेका ५० पदमध्ये पाँचथरका जिल्लाका ३ हुन । यहाँ तीनै जना जनप्रतिनिधिको निधन भएको छ । फाल्गुनन्द गाँउपालिकाका प्रमुख अमरकुमार नेम्बाङ, हिलिहाङ–७ का वार्ड अध्यक्ष तिर्थराज तिम्सिना र फिदिम नगरपालिका–१ का वार्ड अध्यक्ष हर्क मोक्तानको निधन भएपछि उक्त पद खाली छन् ।

जिल्लामा दुई ठुला दल बाहेकका पार्टीहरुले पनि उम्मेद्वारी दिने चर्चा छ । त्यस मध्ये राप्रपाले फिदिम नगरपालिका १ मा उम्मेद्वार नै घोषणा गरेको छ । आगामी निर्वाचनका लागि मिलन गिरीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने पार्टीले निर्णय गरेको राप्रपा पाँचथरका अध्यक्ष जगत थापाले जानकारी दिए । राप्रपा बाहेकका कुनै पनि दलले उम्मेद्वार घोषणा गरेका छैनन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार