बैंक खाता हिनामिना प्रकरणमा खातावाल पनि तानिँदै

नरेन्द्र केसी, घोराही, दाङ। दाङको नारायणपुरस्थित देवः विकास बैंकबाट झन्डै १८ करोड रुपियाँ हिनामिना भएको घटनामा अनुसन्धानका लागि अन्य व्यक्तिसँग पनि बयान लिन शुरु गरिएको छ। अहिलेसम्मको अनुसन्धानबाट ५४ जनाको बैंक खाता प्रयोग भएको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। जसका लागि १० जनालाई नियन्त्रणमा लिइसकिएको र बाँकी ४४ जनालाई नियन्त्रणमा लिने तयारी गरिएको प्रहरीले जनाएको छ।

सोही बैंकमा खाता भएका घोराही र नारायणपुरका १० जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धानमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बैंकका शाखा प्रमुख समिर बुढाथोकीले १७ करोड ९९ लाख रुपियाँ हिनामिना गरेको भनिएको छ। उक्त घटनामा बुढाथोकीले ३६ जनाको नक्कली खाता बनाई त्यसबाट ५४ जना अन्य खातावाल व्यक्तिको नाममा पैसा पठाएको देखिएको छ।

आफ्नो खातामा जम्मा भएको पैसा कसरी आयो र किन आयो भने सोधखोज नै नगरी रकम निकालेकाले कारण मिलेमतो देखिएको प्रहरीको अनुमान छ।

पैसा जम्मा भएका खातावाल व्यक्तिहरूले पनि रकम निकालेको देखिएको तर के कति कारणले आफ्नो खातामा रकम आएको भनी सोधपुछ नै नगरेका कारण उनीहरूलाई पनि प्रतिवादी बनाएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो।

बैंकले रकम हिनामिना भएको भन्दै शाखा प्रबन्धक बुढाथोकीबिरुद्ध प्रहरीमा उजुरी गरेपछि गत भदौ ४ गते लमहीबाट नियन्त्रणमा लिएको थियो। बुढाथोकीको बयान र कागजपत्र तथा रकम निकासामा अनुसन्धानलाई केन्द्रित गरिएको प्रहरी निरीक्षण गौतमको भनाइ छ। अनुसन्धानका क्रममा धेरै व्यक्तिहरू तानिन सक्ने देखिएको प्रहरीले बताएको छ।

आफ्नो खातामा जम्मा भएको पैसा कसरी आयो र किन आयो भने सोधखोज नै नगरी रकम निकालेकाले कारण मिलेमतो देखिएको प्रहरीको अनुमान छ। पक्राउ परेका १० जनालाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ। पछिल्लो ६/७ महिनाको अवधिमा उक्त रकम हिनामिनाको काम भएको देखिएको प्रहरी निरीक्षक गौतमको भनाइ छ।

बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालतको बाणिज्य इजलासबाट मात्रै हुने गर्दछ। नेपालगन्जमा यो इजलास भए पनि यति ठूलो मुद्दाको धेरै जनासँग बयान लिनुपर्ने भएकाले उच्च अदालत तुलसीपुरमै व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार