अहिलेको कर्मचारीतन्त्रबाट कम्युनिस्टले देखेको जस्तो विकास सम्भव छैनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको बताएका छन् ।

राजधानीमा आयोजित एक कायृक्रममा बोल्दै प्रचण्डले हालको कर्मचारीतन्त्रबाट सरकारले देखेको विकास हासिल गर्न कठिन रहेको बताएका हुन् । यस्तै, उनले
स्थायी कमिटीको बैठकले जिल्ला र जनसंगठनको एकताको टुंगो लाग्ने जानकारी दिए ।

मंसिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले प्रदेश कमिटीको टुंगो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसंगठनको एकता गर्ने लक्ष्य बनाएको बताए ।

जनसांस्कृतिक महासंघ नेपालद्वारा जनगायक स्व. खुशीराम पाख्रीनको स्मृतिमा आइतबार राजधानीमा भएको सांस्कृतिक कार्यक्रममा उनले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास दिलाए ।

उनले भने, “सांस्कृतिक आन्दोलनका अगुवा र कलाकारका भावनालाई स्थायी कमिटीमा एजेण्डा बनाएर प्रस्तुत गर्छु, यसलाई मलाई पनि एउटा दिशाबोध गरेको छ ।”

जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने भन्दै उनले विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रम चलाउने कुरा जस्तै सांस्कृतिक आन्दोलनका निम्ति पनि अभियान चलाउने योजना ल्याइने प्रतिबद्धता जनाए ।

जनमतको निर्माण साहित्य, कला र गीत संगीतले गर्ने बताउँदै अध्यक्ष प्रचण्डले खुशीराम पाख्रीन कम्युनिष्ट उद्देश्यका निम्ति समर्पित योद्धा भएको स्मरण गर्नुभयो । सपना पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य अग्नि सापकोटा, पम्फा भुसाल, मणि थापा, साहित्यकार रामेश, रायन, जेवी टुहुरेलगायतको सहभागिता थियो । कार्यक्रममा कलाकारले जनगायक स्व पाख्रिनका शब्द, सङ्गीत रहेका विभिन्न गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार