विद्यालय पढ्न १३ बालिकाको जंगलमै वास

सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै बस्न बाध्य छन् । गाउँमा प्राविसम्मको मात्रै विद्यालय भएकाले थप अध्ययनका लागि सुनकोसीपारि सिन्धुली जार्नैपर्ने भएकाले बालिकाहरू जंगलछेउमा कटेरो बनाएर बस्ने गरेका छन् ।

६० परिवार माझी समुदाय बस्ने कोथवेका अधिकांश माझी बालक प्रावि तहबाटै अध्ययन छाड्छन् । धेरै पढेर सुन्दर भविष्य बनाउन कस्सिएका केही बालिका सिन्धुली सुनकोसी गाउँपालिका–३ झाँगाझोलीको गुटबजारस्थित श्री मावि पुग्नुपर्छ । तर, ८ र १० कक्षामा पढ्ने १३ बालिकालाई सुनकोसी किनारको जंगलछेउमा उभ्याइएको बारबन्देजविहीन कटेरोमा रात काटेर अध्ययन गर्न मुस्किल छ । कतिपयले त यही दुःखका कारण पढाइ छाडिसके ।

केही वर्षअघिसम्म नदी वारपार गर्न काठको डुंगा थियो । तर, थोत्रिएपछि नयाँ डुंगा बनाउन काठ नै नपाएको माझीहरू बताउँछन् । त्यसो त कोथवेबाट दुई घन्टाको दूरीमा पर्ने भिरपानी सित्खामा झोलुंगे पुल छ । तर, त्यहाँसम्म पुग्ने गोरेटो बाटो पहिरोले पुरेपछि गत वर्षदेखि अवरुद्ध छ ।

‘हिउँदका वेला कोसीको पानी सङ्लो हुन्छ, ट्युबमार्फत वारपार गर्न खासै गाह्रो हुँदैन,’ कक्षा १० मा पढ्ने सुशीला माझीले भनिन्, ‘तर, वर्षात्का वेला नदीमा बाढी आउँछ । ट्युबबाट नदी तर्न सकिँदैन । त्यसैले हामी १३ जना साथी यही कटेरोमा बस्दै आएका छौँ । यहीँबाट विद्यालय आउजाउ गर्छौँ ।’

यी बालिकालाई शुक्रबार भने ट्युबमार्फत तारेर अभिभावकले घर लैजान्छन् । आइतबार बिहान फेरि कटेरोमा ल्याइदिन्छन् । यही वेला उनीहरूलाई हप्ताभर चाहिने खाद्यान्न र तरकारी पनि ल्याइदिन्छन् । बालिकाहरू कटेरोमै पकाएर खान्छन् । असारदेखि भदौसम्म यही दुःखमा उनीहरूको अध्ययन चल्छ ।

१० कक्षामा पढ्ने सुशीला माझी भन्छिन्–डरले रातभर निद्रा लाग्दैन
बुबाआमा नदीपारि घरमा बस्नुहुन्छ । तर, कोसी सुसाएको आवाजले घरतिर कोही बोलेको सुनिँदैन । यता जंगलको छेउमा डरले रातभर हामीलाई निद्रा लाग्दैन । बीचमा को सुत्ने भन्ने विषयमा हरेक राति हामीहरूबीच विवाद नै हुन्छ । कोही पनि छेउमा सुत्न मान्दैनन् । जंगली जनावर र मान्छे दुवैको डर हुन्छ ।

‘नेताहरूले आश्वासन मात्रै दिए’
तीनवटै तहको निर्वाचनका वेला नेताहरूले सुनकोसीमा झोलुंगेपुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर, चुनावपछि कुनै पनि जनप्रतिनिधि माझी बस्ती नआएको कोथवेकी ज्ञानु माझीले बताइन् ।

०३७ मा धार परिवर्तन गरी कोसी रामेछापको कोथवेतर्फ गएको थियो । त्यहीवेलादेखि उनीहरूको घर र खेतबारी वारिपारि भयो । अहिले बालिका बस्ने जंगलछेउका कटेरा उनीहरूकै बारीमा बनाइएका हुन् । केही माझीका कटेरा भए पनि बालिकाहरू एउटै कटेरोमा मिलेर बस्ने गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले माझी समुदायको सुविधाका लागि कोसीमा झोलुंगेपुल हाल्न गाउँपालिकाले पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार