टानमा नेकपाको हार, काँग्रेस उम्मेदवार सुवेदी विजयी

काठमाडौं पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) मा काँग्रेस समर्थित प्यानल विजयी भएको छ ।

शुक्रबार भएको निर्वाचनमा काँग्रेसनिकट खुमबहादुर सुवेदी विजयी भए । नेकपा उम्मेदवार अञ्जन थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी विजयी भएका हुन् । सुवेदीले ५ सय १२ र थापाले ४ सय ३८ मत ल्याए । महासचिवमा भने नेकपा समर्थित सरिता लामाले काँग्रेसनिकट कर्मा शेर्पालाई १३ मतको झिनो अन्तरले पराजित गरिन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्यामदान र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा भने थापा समूहका दामोदर ढकाल निर्वाचित भए । सदस्यहरुमा महिलातर्फबाट थापा समूहकी ङिमादिकी शेर्पा, ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा जेन्जिङ शेर्पा र रामबहादुर गुरुङ निर्वाचति भए ।

यस्तै सुवेदी समूहबाट सदस्यमा सनम शेर्पा, काँछन शेर्पा, सनम घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । कुल १ हजार ३ सय १९ मतदाता रहेकामा ९ सय ८१ मत खसेको थियो ।

यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा टानमा बामपन्थी हाबी थिए । तर, पार्टी एकता भएका बेला भने बाम उम्मेदवार पराजित भए । टानमा तत्कालीन एमालेका दुई समूह अस्तित्वमा थिए । पार्टी निकट पर्यटन व्यवासयीका वैधानिक रुपमै दुई संगठन थिए । सुवेदीको नाममा सहमति जुट्न नसकेपछि नेकपा पर्यटन विभाग इन्चार्ज मुकुन्द न्यौपानेले हस्तक्षेप गरी उम्मेदवारी टुंग्याएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार