गुठीकाे सात रोपनी जग्गा जम्मा ६ हजार भाडामा !

काठमाडौँ, २१ भदौ । काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौरस्थित हरिहर नारायण गुठीको करोडौंको सम्पत्ति दुरुपयोग भएको छ । गुठी संस्थानले हरिहर नारायण गुठीको ६ रोपनी १४ आना ३ पैसा १ दाम जग्गा अत्यन्त कम मूल्यमा भाडामा लगाएको हो । राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा गुठीबाट सस्तोमा लिएर महँगोमा भाडा लगाएको पाइएको छ ।

केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले कौडीको भाउमा लिएर महँगोमा भाडा लगाएको उजुरीका आधारमा छानबिन गरेको बताए । टेन्डरै नगरी कौडीको भाउमा भाडामा लगाएको उजुरी परेपछि केन्द्रले छानबिन गरेको हो ।

छानबिन प्रतिवेदनअनुसार संस्थानले उक्त जग्गा सत्य साई केन्द्र र हरिहर नारायण समाजलाई मासिक तीन–तीन हजारमा भाडामा लगाएको छ । समाजले गुठी जग्गामा बनेका सटरबाट मासिक २० हजारका दरले भाडा उठाइरहेको छ ।

जग्गा भाडा सम्झौतामा सटरमा मदिराजन्य वस्तु खरिदबिक्री गर्न नपाइने व्यवस्था छ । तर समाजले भाडा लगाएको सामुदायिक भवनको उत्तरतर्फको सटरमा मदिराजन्य वस्तुको व्यापार भइरहेको छ ।

जग्गामा उत्तरतर्फ ३ तले पक्की भवनमा सत्य साई केन्द्रद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्र छ। उत्तरपूर्वी भागको पक्की भवनमा साई केन्द्रको कार्यालय छ । दुई भवनको बीचमा हरिहर नारायणको मन्दिर छ भने सत्य साई केन्द्रको कम्पाउन्डको दक्षिणपट्टि बगैंचा छ । त्यहीं १२ आना जग्गामा बनेको तीनतले भवनमा हरिहर नारायण समाजको कार्यालय छ। भवनको तल्लो तलाको २ कोठा सामुदायिक प्रहरीले प्रयोग गरेको छ । अन्य सटर रेस्टुरेन्ट र पसललाई भाडामा लगाएको पाइएको केन्द्रले जनाएको छ । याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार