गरिबीको रेखामुनि सीपका धनी नै किन?

परम्परागत सीपका धनी दलित समुदायको सीपलाई उद्योगका रूपमा रूपान्तरण नगर्दा यस समुदाय भूमिहीन र गरिबीको रेखामुनि बाँच्न बाध्य छन्।

परापूर्वकालदेखि सीपमा आधारित पेसा अँगाल्दै आएका हरेक दलित समुदायसँग कुनै न कुनै सीप छ।

यस्तो सीप पुस्तान्तरण हुँदै आएको हो । कपडा सिलाउने, तामा, फलाम, पित्तल लगायतका धातुबाट भाँडाकुँडा बनाउने, जुत्ता बनाउने÷सिलाउने, सुन–चाँदीका कलात्मक गरगहना बनाउने सीप आफ्नै पुस्ताबाट विरासतमै पाएका समुदायका धेरै मानिस अहिले गरिबीको रेखामुनि बाँच्न बाध्य छन्।

यो खबर आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छन्। “यो अवस्था आउनुमा उनीहरूको सीपलाई आधुनिकीकरण नगर्नु हो,” अधिकारकर्मी चक्रमान विश्वकर्माले भने।

विशेषगरी हातमा सीप भएका वर्ग आर्थिक हिसाबमा सम्पन्न हुुनुपर्ने हो तर मेहनत गर्ने वर्गलाई छुवाछूतलगायत विभेद गरिएको छ । उनीहरूको मेहनत र सीपबाट उत्पादन भएका वस्तुको बजारीकरणमा ध्यान दिइएको छैन।

“खुला बजारको अवधारणामा आयातमा जोड दिँदा परम्परागत सीप भएका वर्गको आर्थिक अवस्था नाजुक छ,” विश्वकर्माको तर्क छ।

परिवर्तनका लागि भएका सबै आन्दोलनलगायत दसवर्षे जनयुद्धमा पनि दलित समुदायले योगदान दिएका थिए, त्यसबाट केही राजनीतिक परिवर्तनमात्र देखियो तर सामाजिकलगायत दलितको अवस्था दिन प्रतिदिन नाजुक नै छ।

राज्यले उनीहरूको सीपलाई आधुनिकीकरण गर्न लगानी गर्नुपर्ने, उच्च माध्यमिक तहसम्मको शिक्षा दलितलाई निःशुल्क हुनुपर्ने दलितको मागमा सरकारले ध्यान दिनुपर्छ।

युरोपेली सङ्घको सहयोगमा साझा आवाजका लागि मिडिया एड्भोकेसी ग्रुप (म्याग), नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घलगायतले हालै सिरहा, महोत्तरी, सुर्खेत र जाजरकोटको दलित बाहुल्य क्षेत्रमा गरेको सर्वेक्षणबाट पनि भूमिहीन दलित परिवारले आर्थिक, सामाजिक र स्वास्थ्य समस्या झेलिरहेको पाइएको छ।

सर्वेक्षणअनुसार महोत्तरीको एकडारा र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा बसोबास गर्ने अधिकांश मुसहर समुदाय ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गरिरहेका छन् ।

मुसहरूमध्ये थोरै व्यक्तिसँग मात्र आफ्नो जग्गा र घर छ । उनीहरू प्रायः गाउँका धनी तथा तत्कालीन जमिनदारहरूले बसोबासका लागि प्रदान गरेको जग्गामा झुपडी छन् । उनीहरूको आफ्नो नाममा समेत यी जग्गाहरू दर्ता छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार