कांग्रेस जिल्ला सभापतिको हात भाँच्ने तीन जना पक्राउ

नेपाली कांग्रेसका बाँके सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

आक्रमणमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले जानकारी दिए।

सभापति कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको बाँके कांग्रेसका सदस्य सुधांशु कोइरालाले दाबी गरे।

तर कोइरालाको आरोपको नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले खण्डन गरेका छन्।

अध्यक्ष खरेलले भने, “कांग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन। कांग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो।”

कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी सभापति कोइराला लगायतका कांग्रस कार्यकर्तामाथि युवाको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार भइरहेको छ।

अस्पतालका चिकित्सक डा.विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार