यदि मदन भण्डारी भएको भए एकता पहिल्यै हुन्थ्यो : प्रचण्ड

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता कसैको सनकमा नगरेको बताएका छन् । आज शुक्रबार इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । पार्टी एकता दूरगामी सोचले गरिएको भन्दै उनले लहड र सनकमा नगरिएको स्पष्ट पारे । पार्टी एकतालाई हल्का रुपमा नलिन भन्दै उनले एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुने बताए ।

यी सबै कुरा मिलेको कारण पार्टी एकता सम्भव भएको उनको भनाई छ । बिगतमा पनि कम्युनिस्ट एकताको प्रयास भएको दाबी गरे । उनले स्वर्गीय मदन भण्डारीलाई समेत एकताको लागि आग्रह गरेको स्मरण गरे । उनले भने “मैले २०५० सालमा पनि तत्कालीन मालेका महासचिव मदन भण्डारीलाई एकताका लागि आग्रह गरेको थिएँ, तर उहाँको असामयिक निधनका कारण एकता हुन सकेन । यदि मदन भण्डारी भएको भए एकता पक्कै त्यति बेलै हुन्थ्यो होला” ।

आफना कार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टी एकता नेताले चाहेर मात्र नभएको बताए । उनले भने “पार्टी एकता त्यसै भएको छैन, तपाईंहरूले कम्युनिष्ट इतिहास पढ्नु भयो भने मात्र यसको मर्म बुझ्नु हुन्छ । हाम्रो यो एकतालाई विश्वले समेत सराहना गरेको छ। दुई फरक ठूला पार्टी एकता हुने कुरा मामुली रूपमा नलिनु होला| ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार