बक्यौता नतिर्नेलाई नै विमानस्थलमा पुनः ठेक्का

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्ट कनेक्सन प्रविधि क्युट (कमन युजर टर्मिनल इक्युभमेन्ट) सिस्टमको जिम्मेवारी २५ करोड बक्यौता नबुझाउने विदेशी कम्पनी ‘सिटा’ लाई नै दिने भएको छ।

उक्त कम्पनीको सात वर्षदेखिको ठेक्का सम्झौता शनिबारदेखि सकिँदै छ।प्राधिकरणको बोर्ड बैठकबाट औपचारिक निर्णय हुनेछ । ठेक्का समयावधि नसकिँदै ७ महिनादेखि एक वर्षसम्म थप्ने तयारी छ।

सिटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई भदौसम्म बुझाउनुपर्ने जरिवानासहितको बक्यौता मात्रै २५ करोड हाराहारी छ । यो रकम नबुझाउँदै पुनः जिम्मेवारी पाएको खबर कान्तिपुरले छापेको छ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिलाई विमानस्थल व्यवस्थापनले बुझाएको पुस मसान्तसम्मको बक्यौता प्रतिवेदनअनुसार सिटाले त्यसबेलासम्म बुझाउनुपर्ने रकम २३ करोड ७८ लाख ५१ हजार थियो।

विमानस्थलका अधिकारीहरूले सिटालाई बारम्बार पत्राचार भइरहेको भए पनि बक्यौता नउठेको जानकारी समितिलाई गराएका छन्।

‘सिटाले ७ वर्षअघिको सम्झौतापत्रका छिद्रमा टेकेर तीन वर्षको म्याद थप माग गरिरहेको छ,’ स्रोतले भन्यो, ‘तर यसलाई विमानस्थल व्यवस्थापनले ७ महिनादेखि एक वर्षसम्मको म्याद थप्ने निर्णय गर्दै हाललाई क्युटको काम यसै कम्पनीलाई पुनः निरन्तरता दिने निर्णय गरिसकेको छ।’

विमानस्थलका तत्कालीन महाप्रबन्धक दिनेश श्रेष्ठसँग गरिएको सम्झौता र सिटाले बुझाएको टेन्डरपत्रमा थुप्रै विषय बाझिएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार